स्याङ्जामा मन्त्री अर्यालले गरिन प्रधानमन्त्री ओलीको तारिफ

पौष २७,२०७७

-

पुस २७, २०७७ काठमाडौं। 
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले ५ वर्षका लागि जनमत प्राप्त सरकारलाई आफ्नै पार्टीका नेताहरुले चारैतिरबाट घेराबन्दी गरेपछी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनतामाझ जाने निर्णय गरेको बताउनुभएको छ । 
 
गृहजिल्ला स्याङ्जाका विभिन्न स्थानहरुमा आयोजना गरिएको नेकपाको सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
 
पाँच वर्षका लागि जनताले चुनेर पठाएको आफ्नै पार्टीअध्यक्ष ओलीले नेतृत्व गरेको सरकारलाई पार्टीभित्रैका पदलोलुप नेताहरुले अनेकन बहानामा घेराबन्दी गरेका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले जनतामाझ जाने उक्त निर्णय लोकतान्त्रिक निर्णय भएको समेत बताउनुभयो । ‘पार्टी एकता भएपछी विचारको बहस, छलफल शून्य भयो । 
 
पद, सेवासुविधाको छलफल चल्न थाल्यो । विचारबाट निर्देशित भएको पार्टी पद, पावरमागएर अल्झियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘पद लोलुपहरुले चारैतिरबाट घेराबन्दी गरेर बस्नखानै नदिएपछी सम्माननीय प्रधानमन्त्री ज्यूले जनताको अदालतमा जाने निर्णय गर्नुप¥यो । जनताको अदालतमा जाने उक्त निर्णय लोकतान्त्रिक विधि हो ।’ 
 
आम जनताले आशा भरोसा र विश्वास गरेको सबैभन्दा ठूलो पार्टी नेकपाभित्रैका ठूला नेताहरुले राष्ट्रपतीलाई महाअधियोग लगाउनेसम्मको तयारी गरी हस्ताक्षर गरेका कारण प्रतिनिधिसभाको विघटन गर्नुपर्ने स्थितीको सिर्जना भएको समेत नेकपाका केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इञ्चार्ज समेत रहनुभएकी मन्त्री अर्यालले बताउनुभयो । 
 
‘राष्ट्रपतीलाई महाअभियोग लगाउनेगरी सांसदहरुको हस्ताक्षर संकलन गरियो । यस्तो बिचित्रको दृश्य आफ्नै पार्टीभित्र देख्नुप¥यो । त्यसैले बाध्य भएर प्रधानमन्त्री ज्यूले यस्तो कदम चाल्नुभएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘चारैतिर घेरेर ढोका थुनेर सास थुन्न थालेपछी मुसा पनि बाहिर आउन खोज्छ ।
 
जनताले ५ वर्षका निम्ती जनताले मत दिएका थिए । तर प्रधानमन्त्री ज्यूलाई बस्नखानै नदिएपछी । सरकारलाई काम गर्नै नदिएपछी यस्तो कदम चाल्नुप¥यो ।’
 
सरकारले राष्ट्रिय एकता कायम गर्दै विगतमा विभिन्न कारणले गुमेको नेपालको जमिन फिर्ता लिने कार्य अगाडी बढाएपछी आफ्नै पार्टी नेतृृत्वको सरकार असफल बनाउन आफ्नै पार्टीबाट योजना बनेको समेत मन्त्री अर्यालले बताउनुभयो ।
 
विश्व जनसमुदायमै चर्चाको विषय बन्नेगरी नेपालले पहिलोपटक आफ्नै लगानी, स्रोतसाधन र जनशक्तिमा सगरमाथाको उचाई मापन गरेपनी त्यसलाई आफ्नै देशमा गलत रुपमा ब्याख्या गर्ने गरिएको समेत उहाँले बताउनुभयो । 
 
यसैबीच मन्त्री अर्यालले सत्तारुढ दल नेकपा विभाजनका सन्दर्भमा अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभएको छ । मन्त्री अर्याले सत्तारुढ नेकपा विभाजन भएर दुईवटा समूह बनेनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा भएको बताउनुभयो । 
 
मन्त्री अर्यालले भन्नुभयो, ‘पार्टीको एक नम्बरका अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक नभएर बबरमहलको कार्की ब्याङ्केटमा भेला गरेर पार्टी आधिकारिक हुन्छ त ! तथ्य, प्रमाण र घटनाक्रमले आधिकारिक पार्टीको टुङगो लागिसकेको छ ।’
मन्त्री अर्यालले नेकपा ओली समुहको राष्ट्रिय युवा संघ स्याङ्जाको बृहत युवा प्रशिक्षण कार्यक्रम, वालिङमा आयोजीत नगर अगुवा कार्यकर्ता भेला, गल्याङ नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला, नेकपा फेदीखोला नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला, भुमि सम्बन्धी समस्या समाधान आयोगद्धारा आयोजीत स्थानीय तह अभिमुखीकरण कार्यक्रम लगायतका कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यस अवसरमा ३ दर्जन बढी युवाहरू नेकपा प्रवेश गरेका थिए ।