जोखिम भत्ता नपाएको भन्दै सेवा ठप्प पारेर बाराका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

पौष २८,२०७७

-

पुस २८,२०७७ काठमाडौं । 
कोभिड १९ महामारीमा खटिए बापतको जोखिम भत्ता नपाएपछि बाराको कलैयास्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले मङगलबारदेखि अस्पतालमा धर्ना दिँदै आकस्मिक उपचार बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।
 
सरकारले कोभिड १९ महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी ,चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरिसकेको छ । 
 
सरकारले बैशाखमा जारी गरेको कोभिड १९ महामारीमा कोभिड संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिका अनुसार कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको केही प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ ।
 
तर कलैया जिल्ला अस्पतालका स्वस्थ्यकर्मी, चिकित्सक र कर्मचारी गरी उक्त जोखिम भता नपाएपछि धर्ना र अस्पतालका सेवा ठप्प गरेर आन्दोलन सुरु हुन् । अस्पताल प्रशासनको आलटाल र लापरवाहीका कारण कोभिड १९ मा खटे बापतको जोखिम भता अहिलेसम्म पनि नपाएकाले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन सुरु गरेको उनीहरुले बताएका छन् ।
 
पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भता उपलब्ध गराइदिन हारगुहार गरेपनि अस्पतालले चाँसो नदेखाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको कलैया अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा।रविरोशन गुप्ताले बताए । 
 
उनका  अनुसार अस्पताल प्रशासन ,अस्पतालका मेडिकल सुपरिडेन्ट र अस्पताल विकास समितिको लापरवाहीका कारण जोखिम भता हालसम्म स्वास्थ्यकर्मी र कर्मचारीले पाउन नसकेका हुन् ।