पार्टीले काम गर्न नदिएको एउटा प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती

पौष २९,२०७७

-

पुस २९, २०७७ काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै दाहालले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका हुन् । 
 
काठमाडौंमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो रु पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’
 
दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए । ‘हामी यहाँ प्रहसन देखाउन जुटेका छैनौं । हामी उखान टुक्का गरेर हसाउँन, कमेडी सो गर्न उपस्थित भएका छैनौं । मानिसहरुलाई दिग्भ्रमित गर्न र उद्धेलित, उत्तेजित पार्न उपस्थित भएका छैनौं । राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्न उपस्थित भएका छौं,’ दाहालले भने ।
 
निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए ।
 
‘निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस् भन्नु भएको छ । पार्टीको नाम र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ,’ दाहालले दाबी गरे, ‘केपी ओलीले संविधान मिचेजस्तै अरु संवैधानिक निकायले पनि त्यही गर्न थाले भने जनता हेरेर बस्न सक्छन् रु हेरेर बस्न सक्दैनन् । आँधीहुरी, बतास आउँछ । मैले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै पनि भरोसा छ ।’
 
दाहालले केपी ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि दाबी गरे । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिँड्ने ओली नै भगौडा भएको बताए । ओलीले केही दिनअघि धनगढीमा आयोजित आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहाल र नेपाल समूहलाई भगौडाको संज्ञा दिएका थिए ।