जो बाइडेनले आज अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिदै

माघ ०७,२०७७

-

माघ ७, २०७७ काठमाडौं ।
 
अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन ९७८० अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ ।
 
बाइडेनले ३५ शब्दको मात्रै शपथ लिनेछन् । समारोह सधैं झैं भव्य तरिकाले हुने छैन । कोरोनाभाइरसका कारण भीड जम्मा हुन दिइनेछैन । यसपटक एक हजारदेखि १२ सय व्यक्ति मात्रै शपथ ग्रहण कार्यक्रममा भाग लिन पाउनेछन् । सबै पाहुनाका लागि स्वास्थ्यको कडा मापदण्ड तोकिएको छ । 
 
अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा पहिलो पटक अमेरिकालाई अमेरिकीबाटै खतरा महसुस गरिएको छ । ७ जनवरीमा इलेक्टोरल भोटको गणनाका बेला क्यापिटल हिल अर्थात् अमेरिकी संसद् भवन भित्र र बाहिर हिंसा भएको थियो । त्यतिबेला ट्रम्प समर्थकले अमेरिकी संसदभित्र प्रवेश गरेर मज्जाले तोडफोड गरेका थिए । त्यसैले अमेरिकी सुरक्षा एजेन्सीले थप सावधानी अपनाइरहेको छ । 
 
कसले दिलाउनेछन् शपथ?
 
चीफ जस्टिस जोन नी रोबर्ट जुनियरले अमेरिकी संसद् भवनको वेस्ट फ्रन्टमा बाइडेनलाई राष्ट्रपतिको शपथ दिलाउनेछन् । त्यसपछि राष्ट्रपति बाइडेनले ‘इनगरल स्पिच’ दिनेछन् । यसमा अमेरिकी मतदातालाई धन्यवाद प्रदान गर्नेछन् । भाषण पछि सैन्य टुकडीको समीक्षा गर्नेछन् । 
 
गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् । कार्यक्रममा जेनिफर लोपेजको पनि साङ्गीतिक प्रस्तुती हुनेछ । त्यसपछि बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिस ‘प्रेसिडेन्ट एस्कर्ट’ मा संसद भवनबाट ह्वाइट हाउस जानेछन् । साधारणतया करिब ३ लाख मानिसहरु सडकको दुबै किनारामा देख्ने गरिन्थ्यो तर यसपटक यस्तो हुने छैन । 
 
विशेष पाहुना को हुनेछन्?
 
डोनल्ड ट्रम्प त उक्त समारोहमा उपस्थित हुने छैनन् । तर उनको सट्टामा उपराष्ट्रपति माइक पेन्सको उपस्थिती रहनेछ । यसबाहेक पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यू बुश र बराक ओबामा पनि आउनेछन् । वासिङ्टनका एक थिङ्कट्याङ्क ब्रुकिङ्ग्स इन्स्टिच्यूटका एलेन कामार्कका अनुसार पेन्सको उपस्थितीले सबैभन्दा महत्व राख्छ । पेन्स मानिसहरुलाई यो बुझाउन चाहिरहेका छन् कि रिपब्लिकन पार्टी मात्रै ट्रम्पको दायरामा छैन ।