ओलीको तानाशाही कदमलाई जनताले परास्त गरेरै छोड्ने माधव नेपालको उद्घोष

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली तानशाह हिटलरको बाटोमा हिडेको बताएका छन् ।
 
शुक्रबार काठमाडौमा आयोजित बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेर हिटलरको बाटोमा हिँडेको बताएका हुन् ।
 
उनले ओलीको त्यस्तो तानाशाही र निरंकुश प्रवृतिका विरुद्ध आन्दोलन गर्नुपरिरहेको भन्दै उनको तानाशाही कदमलाई नेपाली जनताले परास्त गरेरै छोड्ने बताए ।
 
केपी ओलीसँग आफ्नो नेतृत्वको नेकपा कुनै हालतमा नझुक्ने बताएका नेपालले ओलीविरुद्धको अहिलेसम्मको विरोध प्रदर्शन कास्टिङमात्रै रहेको र पुरा फिल्म त बाँकी नै रहेको पनि बताए ।
 
शुक्रबारको प्रदर्शन र सभा हेर्दा आफुलाई जनआन्दोलनको झझल्को दिएको भन्दै उनले भने, ‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिएको अनुभव भएको छ’, नेता नेपालले भने, ‘केपी ओलीले संविधान, पार्टी, लोकतन्त्र र देशको स्थायित्वविरुद्ध प्रहार गरेका छन् ।’
 
अध्यक्ष नेपालले केपी ओलीलाई पार्टीले कारवाही गरिसकेको भन्दै उनी रहन्जेल पार्टी र सरकार कुनैपनि अघि बढ्न नसकेको जिकिर गरे ।
 
ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे । उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए । उनले ओलीलाई सुर्धान गरेका अनेकन प्रयास असफल भएको र त्यसमा पनि समीक्षा हुनसक्ने बताए ।
 
उनले सातै प्रदेश, प्रवासी नेपाली र समग्र जनता ओलीको कदमविरुद्ध आन्दोलित भएको भन्दै ओलीसँग अरिंगालको गोलो र साइबर सेनामात्रै भएकाले विशाल पार्टीसँग लड्ने क्षमता उनीहरुमा नरहेको बताए ।