पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न निर्देशन

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न परिषद्को नयाँ नेतृत्वलाई निर्देशन दिनुभएको छ । 
 
नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिदै मन्त्री अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउन पनि आग्रह गर्नुभयो । 
 
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उहाँले तर अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
 
‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’ 
 
आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उहाँले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, पूगतीका निम्ती काम गर्न आग्रह गर्दै उहाँले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ती के–के गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । 
 
पशुचिकित्साको क्षेत्रमा विगतका अनुभवबाट पाठ सिक्दै जनअपेक्षाअनुसार सेवा प्रवाह गर्ने कार्यमा ध्यान दिन समेत आग्रह गर्नुभयो । त्यस अवसरमा बोल्दै परिषद्को रजिष्टार नारायण घिमिरे, नवनिर्वाचित उपाध्यक्ष डा.सुबिर सिंहले पशु चिकित्सासँग सम्बन्धीत शिक्षण संस्थाहरुलाई गुणस्तरिय बनाउनका निम्ती लागेको बताउनुभयो ।