कोरोनाविरुद्धको साढे चार लाख खोप आजबाट प्रदेशमा पठाइँदै

माघ ११,२०७७

-

माघ ११, २०७७ काठमाडौं ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साढे चार लाख खोप आइतबार प्रदेशमा पठाउने तयारी गरिएको छ । स्थानीय तहबाट खोप लगाउने फ्रन्टलाइनरको यकिन तथ्यांक संकलन नहुँदा खोप पठाउन ढिलाइ भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
 
‘खोप लगाउनेको यकिन तथ्यांक आइतबार बिहानसम्म संकलन गरी बेलुका अबेर भए पनि खोप पठाउन लागेको विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले जानकारी दिए । जिल्लागत विवरणका आधारमा प्रदेशमा खोप पठाउन लागिएको हो ।
 
१० लाखमध्ये दोस्रो चरणमा थप ४ लाख ५० हजार मात्रा पठाइने उनले बताए । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको दुई वटा ट्रक तयारी अवस्थामा राखिएको छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १५ मा खोप लगाउन सुरु गर्ने घोषणा गरिसकेका छन् । विभागको योजनाअनुसार केन्द्रबाट प्रदेशमा खोप पुर्‍याउन दुई दिन र प्रदेशबाट जिल्ला अस्पतालसम्म पुर्‍याउन अर्को दुई दिन कम्तीमा लाग्ने अनुमान छ । 
 
जिल्ला तहका स्वास्थ्यकर्मी, सफाइमा खटिने कर्मचारी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई पहिलो चरणमा खोप लगाउन लागिएको हो । खोप लगाउन जिल्ला अस्पतालमा बुथ बनाउन लागिएको छ । खोप लगाएपछि हुन सक्ने असरको निगरानी गर्न छुट्टै टोली परिचालन गरिएको विभागले जनाएको छ ।