Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

अमेरिकाबाहेकका मुलुकविरुद्ध आणविक हतियार प्रयोग नगर्ने

श्रावण २४,२०७४

-एजेन्सी

२४ श्रावण/मनिला- उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको स्पष्ट पारेको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्समा रहेका उत्तर कोरियाली विदेशमन्त्री री होङ योले उत्तर कोरिया एउटा जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएम) ले सुसज्जित मुलुक भएको दाबी गरे । रीले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै एक विज्ञप्ति जारी गर्दै भने, ‘अमेरिकासँग कुनै मुलुकले उत्तर कोरियाविरुद्ध मिलेर हतियार नचलाउँदासम्म आनो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुकविरुद्ध प्रयोग गर्ने हाम्रो मनसाय छैन ।’ अमेरिकाले कोरियाली प्रायद्वीपको विवादलाई संयुक्त राष्ट्र संघको ‘दुरुपयोग’ गरी उत्तर कोरियाली आणविक हतियार ‘विश्वलाई खतरा’ भएको भनी अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको भन्दै अमेरिकाको कडा आलोचना गरे । विदेशमन्त्री रीले कोरियाली प्रायद्वीपको आणविक विषयलाई सिर्जना गर्ने र अहिलेको अवस्थामा ल्याउने काम अमेरिकाको नै भएको समेत उनले आरोप लगाएका छन् । यसैबीच संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झनै टरेको उत्तर कोरियाले प्रतिक्रिया दिएको छ । उसले एकपक्षीय रूपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध पनि गरेको छ । उत्तर कोरियाले अमेरिकासहितका देशले आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको जनाएको छ । उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ । करिब दुई वर्षयतादेखि निरन्तर रूपमा उसले आणविक परीक्षण जारी राखेको छ । यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको अर्थतन्त्रमा पनि नराम्रो असर पर्ने जनाइएको छ । तर उसले भने उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर नपर्ने बरू देशलाई आत्मनिर्भर हुन सघाउ पु¥याउने जनाएको छ । संयुक्त राष्ट्र संघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लंघन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन । उत्तरले जारी राखेको क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरिया र जापानले पनि निन्दा गरेका छन् । यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच हालै फोनवार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लगाउने र कूटनीतिक दबाब दिनेमा दुवै देश सहमत भएका थिए । पछिल्लो नाकाबन्दीको कानुनमा चीन र रुसले पनि सहमति जनाएका छन् । यसअघि उत्तर कोरियामाथि लगाउने यस्ता नाकाबन्दीको प्रस्तावलाई रुस र चीनले भिटोपावर प्रयोग गर्दै असफल पार्दै आएका थिए ।