स्वस्थानी ब्रतको आज चौथो दिन, सालिनदिमा भब्य मेला

माघ १८,२०७७

-

 
काठमाडौं । श्री स्वस्थानी परमेश्वरीको ब्रतको आज चौथो दिन पुगेको छ । यहि माघ १५ गतेदेखि स्वस्थानी परमेश्वरीको ब्रत र पुजा आरम्भ भएको हो । ब्रतको पहिलो दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
 
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फलफुल , १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ ।
 
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानी देवीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।
 
 
सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ ।
 
आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।
 
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएका धर्मशास्त्रमा उल्लेख छ ।
यस्ती देवीको विधिपूर्वक व्रत गरेमा विछोड भएका जोडीको पुनः मिलन हुन्छ भन्ने विश्वास छ । रोग–ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि विछोडमा परेका नाग–नागिनीको समेत पुनः मिलन भएको कथामा उल्लेख छ ।
 
गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । 
 

साँखु शालिनदी मेला 

 
यस अवसरमा माघ १५ देखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।  
व्रतालु हरेक दिन बेलुकीदेखि नै साँखुमा बास बस्न आउनेछन् । एक महिनासम्म चल्ने श्रीस्वस्थानी व्रतलाई एउटा विशेष पर्वको रूपमा मनाइन्छ । यस अवधिमा श्रीस्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको पुजा पनि गरिन्छ । श्रीस्वस्थानीको कथा स्वस्थानी देवी र भगवान शिवमा आधारित रहेको छ ।
 
आदिशक्ति भएकी स्वस्थानी देवीले भक्तजनलाई तुरुन्तै मनले चिताएको फल दिने व्रतालुहरूको विश्वास रहेको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानी देवीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।