म्यान्मारमा सैनिक ‘कु’, नेतृ आङ सान सुकी नियन्त्रणमा
-
काठमाडौं । म्यानमारकी नेतृ आङ सान सूकी पक्राउ परेकी छन् । सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ सूकीलाई सेनाले पक्राउ गरेको सो पार्टीका प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सेना र सरकारबिच तनाव चलिरहेका बेला सूकी पक्राउ परेकी हुन् । सूकी पक्राउ परेसँगै सैन्य कू भएको सार्बजनिक भएको छ । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको एनएलडीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो । तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।
सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो । बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सूकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूकी पक्राउ परेकी हुन् ।
सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यस्तै अरु प्रजातन्त्रवादी नेताहरु पनि पक्राउ परेको उल्लेख छ । राजधानी सहितका प्रमुख शहरहरुमा ठूलो संख्यामा सैनिक तैनाथ भएको बिबिसीले उल्लेख गरेको छ ।
स्थानीय समय अनुसार सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् ।
उनले समर्थकहरुलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् । कानून अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् ।
राजधानीसहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रुपमा लिइएको थियो ।
नोभेम्बर ८ मा भएको चुनावमा एनएलडीले उपलब्ध मध्ये ८३ प्रतिशत सिटमा जित हाँसिल गरेको थियो । सन् २०११ मा सैन्य शासन अन्त्य भएयताको दोस्रो चुनावलाई सुकीको परीक्षणका रुपमा समेत हेरिएको थियो । तर सेनाले चुनावी नतिजालाई धाँधली भन्दै चुनौति दिएको थियो ।
सेनाले सोमबार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक कू नभएको जनाएको छ ।
नेताहरूलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरूले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्क बिच्छेद गरिएको बिबिसीले जनाएको छ ।
गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो। सेनाले भने उक्त चुनावमा धाँधली भएको बताउँदै आएको थियो ।
सोमबार म्यानमारको नयाँ संसदको बैठक बस्दै थियो। सेनाले यो बैठक नराख्न भनिरहेको थियो ।
सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो। गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो ।
आफू समर्थित पार्टीले पाँच वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो ।
म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । (समाचार, अन्तराष्ट्रिय एजेन्सी ।)