श्रावण २६,२०७४
-
२६,२०७४ श्रावण,काठमाडौँ-
निर्वतमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य उपकरण किन्नका लागि आफुले ल्याएको बजेट फ्रिज भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
सवै सरकारी स्वास्थ्य संस्थाहरुमा उपकरण पुग्नेगरी बजेटको व्यवस्था गरि प्रक्रिया सुरु पनि गरिदिएकोमा उपकरण किन्ने प्रक्रिया अगाडी नबढाउदा फ्रिज भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो “अर्थ मन्त्रालयमा हामीले धेरै मेहनेत र छलफल गरेर करोडौंको बजेट उपकरण किन्नका लागि ल्याएका थियौं, किन्ने प्रक्रिया पनि सुरु भईसकेको थियो, तर हामीले छोडेपछि भने कुनै प्रक्रिया अगाडी नबढ्दा त्यो रकम त्यसै फ्रिज भएछ, यसले दुःखी बनाएको छ”, उहाँले भन्नुभयो ।
नेपाल स्वास्थ्यकर्मी संघ, केन्द्रीय युवा समितिले प्रकाशन गरेको स्वास्थ्यकर्मी नामक स्मारिकाको विमोचन कार्यक्रममा निवर्तमान मन्त्री थापाले मन्त्रालयको बजेट बढाउने भन्दा पनि भएको बजेटलाई फ्रिज हुन नदिनु बढी बुद्धिमानी हुने बताउनु भयो ।
मन्त्रालयलाई छुट्याईएको करोडौ रुपैया खर्च नभएर फ्रिज भईरहेका बेला बजेट बढाउछु भन्नु उपयुक्त नहुने उहाँको भनाई छ । स्वास्थ्यकर्मीहरुका सन्तानलाई स्वास्थ्य शिक्षामा सहुलियत र प्राथमिकता दिनेगरी आफुले केही प्रक्रिया अगाडी बढाएको जानकारी दिदै थापाले त्यसलाई पुरा गरेर कार्यान्वयनमा लैजान ध्यानकर्षण गराउनु भयो ।
“तपाईहरुले आफ्नो पुरै जीवन स्वास्थ्य क्षेत्रमा लगाएर देश र जनताका लागि ठुलो योगदान गर्नु भएको छ, त्यही योगदानको कदर स्वरुप तपाईहरुका छोराछोरीको शिक्षाका लागि निश्चित कोटाको व्यवस्था गर्नु पर्नेगरी केही काम भएको छ, त्यसलाई अव टुंगोमा पुर्याएर कार्यान्वयन गर्न लगाउनुस्,” निर्वतमान स्वास्थ्यमन्त्री थापाले भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा लक्ष्मीराज पाठक, सङ्घका अध्यक्ष रामजी घिमिरे लगायतले मन्त्री थापाको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै काम भएपनि त्यसलाई काँग्रेसले स्थापित गर्न नसकेको बताउनु भएको थियो ।
“काँग्रेसले नजानेर हो वा नचाहेर हो उहाँले गरेको कामका बारेमा जनतासम्म पुर्याउन सकेन, पार्टीले स्वमित्व पनि लिएन,” उहाँहरुले भन्नुभयो ।
कार्यक्रममा स्मारिकाको समिक्षा टिप्पणी गर्दै बरिष्ठ मुटुरोग विषेशज्ञ तथा सहित्यकार डा रामेश कोईरालाले प्राविधिक पेशाकर्मीहरुले निकालेका स्मारिकहरु मध्ये यसमा निकै कम त्रुटि भएको र हरेक स्वास्थ्यकर्मीलाई उपयोगी हुने पुस्तक बनेको बताउनु भयो ।
स्वास्थ्यकर्मी संघ अन्तर्गतको केन्द्रीय युवा समितिका अध्यक्ष अमृतजङ बस्नेत प्रधान सम्पादक रहेको २०६ पृष्ठ बाक्लो स्मारिकामा स्वास्थ्य क्षेत्रका विभिन्न लेख रचना संकलन गरिएको छ ।
प्रमुख समाचार