Trending :
 

वीर अस्पताल विस्तारका लागि जसरी पनि बजेट जुटाउने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

माघ २७,२०७७

-

माघ २७,२०७७ काठमाडौं ।
मुलुककै जेठो वीर अस्पताल विस्तारका लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
मंगलबार चाँगुनारायण नगरपालिका-१, २ र ४ मा अवस्थित वीर अस्पताल विस्तारका लागि छुट्याइएको जग्गा अवलोकन गर्दै अर्थमन्त्री पौडेलले अस्पतालको संरचना निर्माण एवम् विस्तारका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दातृ संस्था वा अन्य निकाय जहाँबाट जसरी भए पनि बजेट जुटाउने बताएका हुन् ।
 
मंगलबार अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का उपलकुलपति टीएन शाह, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक केशव शर्मा,चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, वडाध्यक्षलगायतको टोलीले जग्गाको अवलोकन गर्दै वीर अस्पताल विस्तारको पहिलो चरणमा फराकिलो सडक, विद्युत्, पानी र ढल व्यवस्थापनको प्रबन्ध हुनुपर्ने जनाएको छ ।
 
कार्यक्रममा अर्थमन्त्री पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक केशव शर्मालगायतलाई आ–आफ्नो जिम्मेवारीमा परेको कार्यको लागत इस्टमेट तयार गरेर काम सुरु गर्न निर्देशन दिएका छन् ।
 
वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका १, २ र ४ मा पर्ने दुवाकोटस्थित जग्गाको छनोट गरी गरेर विस्तारको प्रक्रिया थालेको छ । अस्पतालको नाममा करिब ५ सय ७० रोपनी जग्गाको लालपुर्जा समेत प्राप्त भईसक्यो ।
 
 उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण गर्ने सरकारको लक्ष्य छ ।