बिहीबार पनि सेयर बजार २५ अंकको छलाङ मार्दै कीर्तिमानी

फाल्गुण ०६,२०७७

-

फागुन ६, २०७७ काठमाडौं ।
साताको अन्तिम सेयर कारोबार हुने दिन बिहीबार पनि बजार उकालो लागेको छ । २५ दशमलव २३ अंकले बढेर नेप्से परिसूचक २६३६ दशमलव ६८ बिन्दूमा पुगेको हो । यो अहिलेसम्मकै कीर्तिमानी अंक हो ।
 
बीमा क्षेत्र र माइक्रोफाइनान्सबाहेक सबै समूहको परिसुचक बढ्दा नेप्से उकालो लागेको हो । बीमा क्षेत्रअन्तर्गतका दुवै समूहस् जीवन बीमा र निर्जीवन बीमा घटेका छन् । जीवन बीमा समूहको परिसुचक ० दशमलव ५९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको परिसुचक ० दशमलव ३८ प्रतिशतले घटेको छ । त्यसबाहेक माइक्रो फाइनान्स समूहको परिसुचक ० दशमलव ६२ प्रतिशतले घटेको हो ।
 
पछिल्लो समय लगातार बैंकिङ समूहको परिसुचकमा आएको वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ ।   बैंकिङ समूहमा १ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ  । सबैभन्दा बढी ट्रेडिङ समूहको परिसुचकमा वृद्धि भएको छ । ट्रेडिङ, डेभलपमेन्ट बैंक र अन्य समूहमा २ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ ।
 
बिहीबारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर बढ्यो । १० प्रतिशतले बढेको यो कम्पनीको सेयर मूल्‍य प्रति कित्ता दुई सय ७५ रुपैयाँ पुगेको छ ।
 
७ कम्पनीको सेयर मूल्‍य ९ प्रतिशतभन्दा बढी अंकले बढेको छ ।
 
९० हजार २ सय २ पटकको कारोबारमा ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसबीच १ करोड ९६ लाख कित्ता बराबर सेयर खरिदबिक्री भएको छ ।