खेलकुद गतिविधि
श्रावण २९,२०७४
-रासस
२९ श्रावण,काठमाडौँ-
आयोजक ग्रिनल्यान्ड स्कुलले १२औं क्विक्स ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो सफलता हात पारेको छ । धापासीस्थित आयोजकको कोर्टमा भएको सिनियर ब्वाइजको उद्घाटन खेलमा ग्रिनल्यान्डले ज्ञान सिन्धुलाई ४५–३६ को स्कोरमा हराउँदा दिलीप पुनले सर्वाधिक १६ स्कोरको योगदान पु¥याए । त्यस्तै जुनियर ब्वाइजतर्फको खेलमा दिवस ढुंगेलको सर्वाधिक ८ स्कोरको सहयोगमा ग्रिनल्यान्डले बाग्मतीलाई २५–७ को फराकिलो अन्तरले हरायो । जुनियर ब्वाइजकै अन्य खेलमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), मनास्लु, लालीगुराँस, इडनब्रिज र लक्ष्मीपुरले सफलता हात पारेका छन् ।
बीएनएले डीआर मेमोरियललाई २२–१४ ले हरायो । मनास्लुले कान्तिपुरमाथि २२–२१ को रोमाञ्चक जित निकाल्यो । इडनब्रिजले टीआईएलाई १९–१७ ले हराउँदा लक्ष्मीपुरले हिमालयलाई १८–१२ ले स्तब्ध बनायो । प्रतियोगितामा जुनियर छात्रतर्फ २४ र सिनियरतर्फ १६ विद्यालयको सहभागिता रहेको छ । ३ भदौसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले उद्घाटन गरेका थिए ।
जुनियरतर्फका खेलाडीको औसत उचाइ ४ फिट १० इन्चभन्दा बढी हुनु नहुने र कक्षा ८ सम्ममा अध्ययन गरिरहेको हुनुपर्ने नियम रहेको आयोजकले जनाएको छ । लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सिनियरतर्फ ८ र जुनियरतर्फ १६ विद्यालय नकआउट चरणका लागि छनोट हुनेछन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार