अन्तराष्ट्रिय प्रसङ्ग
श्रावण २९,२०७४
-एजेन्सी
२९ श्रावण,बेइजिङ-
चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच उत्तर कोरियाका बारेमा टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरिया र अमेरिकालाई बोल्ने क्रममा शब्दमा ख्याल गर्न आग्रह गरेका छन् ।
उनले दुवै देशलाई भड्काउपूर्ण अर्थ बोक्ने शब्दहरू प्रयोग नगर्न आग्रह गर्दै यस्ता शब्द र गतिविधिमा ध्यान दिएमा तनाव कम हुने सुझाव दिएका छन् । अमेरिका र उत्तर कोरियाबीच पछिल्लो केही समयदेखि तीखा शब्दले आरोप प्रत्यारोप चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आगो र आक्रोस झेल्न चेतावनी दिएका थिए ।
तर उत्तर कोरियाको एक मात्र छिमेकी मित्रराष्ट्र चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गर्दै आएको छ । ह्वाइट हाउसका अनुसार अमेरिका र चीन उत्तर कोरियालाई आफ्नो भड्काउपूर्ण र माहौल बिगार्ने प्रकृतिका अभिव्यक्ति बन्द गर्न आग्रह गर्न सहमत भएका छन् ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद आफ्नो परमाणु कार्यक्रमलाई अघि बढाइरहेको छ । जुलाईमा उत्तर कोरियाले दुई अन्तरमहादेशीय मिसाइल परीक्षण परेपछि राष्ट्रसंघले कडा प्रतिबन्ध लगाएको छ । अमेरिकाको यसमा प्रमुख भूमिका रहेको भन्दै यसको उचित मूल्य बेहोर्नुपर्ने उत्तर कोरियाले चेतावनी दिएपछि अमेरिकाले पनि कडा अभिव्यक्ति दिएको थियो ।
उत्तर कोरियाले त्यसलगत्तै प्रशान्त क्षेत्रमा रहेको अमेरिकी द्वीप गुआममा आक्रमण गर्ने तयारी गरिरहेको बताएपछि दुई देशबीच लगातार तनाव बढिरहेको छ । उत्तर कोरियामाथि पछिल्लो समयमा लगाइएको प्रतिबन्धले उसको राजस्वमा एक तिहाइ कमी आउने आशंका गरिएको छ ।
चिनियाँ मिडियाले राष्ट्रपति सी जिनपिङिले ट्रम्पलाई टेलिफोनमा उत्तर कोरियाको समस्या वार्ताका माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने भन्दै बयानबाजीमा नउत्रिन आग्रह गरेको जनाएका छन् । जिनपिङले कोरियाली प्रायद्वीपमा परमाणु अप्रसार र शान्ति स्थापित गर्नु चीन र अमेरिकाको साझा हितमा रहेको बताएका थिए ।
यद्यपि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफ्नो वक्तव्यमा राष्ट्रपतिसँग गरेको आग्रहबारे उल्लेख गरेको छैन । यद्यपि विज्ञप्तिमा दुई राष्ट्रपतिबीच निकट सम्बन्ध रहेको भन्दै यो सम्बन्ध उत्तर कोरियामा उत्पन्न समस्या समाधानका लागि सहायक सिद्ध हुने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियामाथि दबाब बनाउन चीनले सबैभन्दा बढी भूमिका खेल्न सक्ने बताइसकेका छन् ।
यसअघि चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङ दुई पक्षलाई आफ्ना बोली र व्यवहारमा संवेदनशील र नियन्त्रित हुन आह्वान गरेका थिए । उनले एक आपसमा बढ्दै गइरहेको तनाव कम गर्न आग्रह पनि गरेका छन् । उनले थपे, ‘आशा गरौं, प्रेम र शान्तिको बाटोबाट समस्याको समाधान गर्नेतर्फ सबै लाग्नेछन्, त्यही नै म भन्न सक्छु । आशा गरेजस्तै हुनेछ, जे हुन्छ त्यो हामीले देख्न पाउनेछौं ।’
उत्तर कोरियाले गुआम द्वीपमाथि आक्रमणको योजना बनाएको खबर सार्वजनिक भएपछि चीनका कुनै पनि शीर्ष नेताले आधिकारिक रूपमा चीनको धारणा सार्वजनिक गरेका थिएनन् । यद्यपि शुक्रबार मात्रै चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले उत्तर कोरियाले अमेरिकी सो द्वीपमाथि आक्रमण गरेको अवस्थामा चीन तटस्थ बस्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।
तर उसले चीनलाई असर पर्नेगरी उत्तर कोरियाली शासन सत्तामा परिवर्तन ल्याउन अमेरिकाले आक्रमण गरेमा चीन चुप लागेर बस्न नहुने उसको भनाइ थियो । ग्लोबल टाइम्सको सो भनाइअनुसार उत्तर कोरियामाथि अमेरिकाले आक्रमण गरेको अवस्थामा चीनले समेत सहयोग गर्ने देखिन्छ ।
अमेरिकाले सामरिक हिसाबले पनि निकै महŒवपूर्ण मानिएको गुआममाथि आक्रमण गरेको अवस्थामा अमेरिकासमेत चुप लागेर नबस्ने संकेत गरिसकेको छ । यसले कोरियाली प्रायद्वीपमा अझ तनाव बढ्ने देखिएको छ । अमेरिकाले यही द्वीपबाट दक्षिण चीन सागर, ताइवान र उत्तर कोरियालाई नियाल्ने गरेको छ । करिब १ लाग ६३ हजार जनसंख्या रहेको यो द्वीपको एक चौथाइ भूभागमा ७ हजार अमेरिकी सेना तैनाथ रहेका छन् ।
यो द्वीपलाई दोस्रो विश्वयुद्धका क्रममा जापानले पर्ल हार्बरमा आक्रमण गरेको दुई दिनपछि नियन्त्रणमा लिएको थियो । यद्यपि अमेरिकाले दोस्रो विश्वयुद्धको अन्तिम समयमा पुनः यसमाथि कब्जा जमाएको थियो । गुआम द्वीप सन् १८९८ देखि अमेरिकाको नियन्त्रणमा आएको हो ।
प्रमुख समाचार
सम्वन्धित समाचार