ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिएको पौडेलको आरोप

फाल्गुण ०९,२०७७

-

फागुन ९,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति शेरबहादुर देउवाले साथ दिएको आरोप लगाएका छन् ।
 
आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए।
 
उनले भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले । संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’
 
नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे। उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे।
 
उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए।