ओलीले उद्घाटन गरेको सिसहनिया-महदेवा जोड्ने पुलको शिलालेख तोडफोड

फाल्गुण ०९,२०७७

-

फागुन ९,२०७७ काठमाडौं ।
दाङको देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुकुन्द रिजालले बताए ।
 
प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिएको थियो । 
 
शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अगाडि तोडफोड भएको बताइएको छ । शिलालेख तोडफोड गर्नेको पहिचान हुन नसकेको डिएसपी रिजालले बताए ।
 
शिलालेखमा लेख्नेक्रममा त्रुटि भएको भन्दै प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेख तीन दिन अघि नै तोडफोड भएको जानकारी प्राप्त भएको उनले बताए ।
 
उनले घटनाको अनुसन्धान भइरहेको पनि जानकारी दिए । पुलको धेरैजसो भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै पुल उद्घाटन हुने दिनदेखि नै स्थानीय रुष्ट बनेका थिए । उनीहरुले शिलालेख सच्याउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आए पनि त्यो नभएपछि शिलालेख तोडफोड भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
 
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।