आइएमई र अल अहलिया एक्स्चेन्जवीच रेमिट्यान्स सेवा विस्तार गर्ने समझदारी

फाल्गुण १०,२०७७

-आस्था न्यूज

फागुन १०,२०७७ काठमाडौं ।
रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएइ) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । 
 
समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएइबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ । 
 
यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । 
 
सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइ बाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ । 
 
रोजगारीका वा व्यापार व्यवसायका लागि यूएइ भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताउनुभयो ।
 
आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताउनुभयो ।
 
आइएमई पे ब्राण्डको प्रर्विद्र्घत संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो । 
 
यूएइ नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । 
 
वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । अल अहलिया एक्स्चेन्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । 
 
सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउन सक्नेछन् ।