कोरोना खोप भडारणका लागि आठ स्थानमा गृह बनाइँदै

फाल्गुण १०,२०७७

-

फागुन १०,२०७७ काठमाडौं ।
सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड-१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो ।
 
सोहीअनुसार प्रदेश नम्बर १ को विराटनगरस्थित प्रदेश ल्याब बनाउने स्थानमा, प्रदेश नम्बर २ को जनकपुरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, बागमती प्रदेशको राजधानी हेटौँडास्थितमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिदैछ ।
 
त्यस्तै लुम्बिनी प्रदेशको बुटबल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतस्थित स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ ।
 
मन्त्रालयको शहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलका अनुसार प्रति भण्डारण गृह रु एक करोड २० लाखका दरले आठ वटा भण्डारण गृह निर्माणमा कुल रु नौ करोड साठी लाख खर्च हुनेछ । 
 
उहाँका अनुसार प्रदेश–२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भई कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ ।