लागुऔषध मुद्दामा पक्राउ परेका दुई जना थुनुवा अदालतबाटै फरार !

फाल्गुण ११,२०७७

-

फागुन ११, २०७७ काठमाडौं ।
प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका दुई जना जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका छन् । कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएका हुन् ।
 
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले आइतबार शेखलाई कटहरीबाट खैरो हिरोइनसहित र चौधरीलाई बरगाछीबाट लागुऔषधसहित पक्राउ गरेको थियो । 
 
जिल्ला प्रहरी कार्यालय मोरङबाट दुवै जनालाई सोमबार म्याद थपका लागि जिल्ला अदालत मोरङ लगिएको थियो । दुवै जनालाई ५र५ दिनको म्याद थप गराएपछि अदालतकै क्यान्टिनमा खाजा खाने क्रममा उनीहरू फरार भएको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।
 
 
हतकडीसहित भागेका उनीहरू भारततर्फ भागेको हुन सक्ने प्रहरीले जनाएको छ । ‘गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रूपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताए ।
 
खाजा खानुअघि उनीहरूले प्रहरीको मोबाइल मागेर फोन पनि गरेका थिए । फोनमार्फत सम्पर्कमा भएका व्यक्तिलाई बोलाएर उनीहरू प्रहरीकै ‘सेटिङ’मा भागेको हुन सक्ने प्रहरीले जनाएको छ ।