लोकतन्त्रवादीले न्यायालयको फैसला मान्‍नुपर्छः उपप्रधानमन्त्री पोखरेल

फाल्गुण ११,२०७७

-रासस

फागुन ११, २०७७ काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका छन् । प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले न्यायालयको फैसला आफूहरुले मान्ने स्पष्ट पारेका हुन्। 
 
न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौँ भनेर कसले भन्छ ? उनले भने, न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ? शक्ति पृथकीकरणको सिद्धान्तलाई आफूहरुले विश्वास गर्ने जनाउँदै उनले न्यायपालिकाको निर्णयलाई सबैले शिरोधार्य गर्नुपर्ने बताए ।
 
राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका लागि दुई वामपन्थी दलबीच एकता गरिए पनि संकट आएका कारण दिगो हुन नसकेको पोखरेलले बताए ।
 
उनले भने,राजनीतिक स्थिरताका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएर विघटनको निर्णय भएको हो । ताजा जनादेशमा जाने कुरा असंवैधानिक र अलोकतान्त्रिक कसरी हुन सक्छ ?
 
निर्वाचन तोकिएकै समयमा हुने जनाउँदै उनले यसलाई हुन नदिनका लागि कुनै खालका कोसिस नगर्न सबैलाई अनुरोध गरे । उनले भने, यो निर्वाचन ताजा जनादेशका लागि हो । यो सबैको हितमा हुन्छ । उनले निर्वाचन आयोग, सुरक्षा निकायलगायत सबैले निर्वाचन तयारी गरिरहेको जानकारी दिए ।