अन्तराष्ट्रिय प्रसङ्ग
श्रावण ३१,२०७४
-एजेन्सी
३१ श्रावण/तेहरान- इरानको संसद्ले आफ्नो मिसाइल कार्यक्रम र रिभोल्युसनरी गार्डसका लागि ५० करोड डलर अतिरिक्त खर्चलाई स्वीकृति दिएको छ । साथै इरानी सांसदले अमेरिकाले लगाएको नाकाबन्दीको चर्को विरोध गर्दै ‘अमेरिका नाश होस्’ भन्ने नारा लगाएका थिए । अमेरिकाले हालै इरान, रुस र उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला नै इरानले प्रतिबन्धको कडा जवाफ दिने बताएको थियो । इरानको पछिल्लो कदमलाई यही जवाफका रूपमा लिइएको छ । इरानको सरकारी न्युज एजेन्सी इरनाका अनुसार यो निर्णयपछि सरकारलाई परमाणु मिसाइल विकास कार्यक्रम र रिभोल्युसनरी गार्डसको विदेशी अभियान (द कुर्दस फोर्स) का लागि अतिरिक्त २६ करोड राशि उपलब्ध गराउनेछ । इरानी रिभोल्युसनरी गार्डसको कुर्द फोर्सको टोली सिरिया र इराकमा इरानी सैन्य अभियान सम्हालिरहेको छ । इरानी संसद्का सभामुख अली लारिजानीले यस निर्णयबारे भने, ‘अमेरिकाले यो जान्नु पर्दछ कि यो हाम्रो पहिलो कारबाही हो ।’ लारिजानीले अमेरिकी गतिविधि र आतंकवाद प्रतिरोधी अभियानका लागि आर्थिक प्याकेजको समर्थन गरेपछि यो भनाइ बाहिर आएको हो । यस क्रममा इरानी संसद्का २४४ मा २४० सांसदले मतदान गरेका थिए । इरानी संसद्मा यो आर्थिक प्याकेजको समर्थनमा फैसला आएपछि सांसदले अमेरिका नाश होस् भन्ने नारा लगाएका थिए । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि दुई देशबीच तनाव बढेको छ । अमेरिकाले जुलाईमा इरानविरुद्ध परमाणु कार्यक्रमलाई ध्यानमा राख्दै नयाँ प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सन् २०१५ मा भएको इरान–अमेरिका परमाणु सम्झौताविरुद्ध रहेको भन्दै इरानले विरोध जनाउँदै आएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग भएको सो सम्झौता सबैभन्दा खराब सम्झौता भएको भन्दै त्यसलाई तोड्ने निर्णय गरेका थिए । इरान र अमेरिकाबीच सन् १९८० पछि कूटनीतिक सम्बन्ध छैन । पूर्वराष्ट्रपति बाराक ओबामाले इरानसँग सीधा कुराकानी गरेका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार