सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारमा गोली चलाउँदा ३८ को मृत्यु

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
 
सैन्य ‘कु’ विरूद्ध आन्दोलित सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
 
म्यान्मारको सेनाले बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।
 
सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
 
म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
 
संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ ।
 
म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य देखिएको बताएकी छन् ।
 
सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको उनले बताइन् ।
 
म्यान्मारमा सेनाले सर्वसाधारणमाथि दमन गर्न थालेपछि यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्दैछ ।
 
बैठकमा म्यान्मारको अवस्था र आगामी कदमबारे छलफल हुनेछ ।
 
बुधवारको घटनापछि अमेरिकाले म्यान्मारको सेनाविरूद्ध थप कदम चाल्ने चेतावनी दिएको छ ।