सेयर बजारमा हरियाली, ९० अंकले बढ्यो नेप्से

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरु बढेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।
 
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो । पछिल्लो केहि दिन यता निरन्तर जसो घटेको बजार बिहीबार भने ठूलो अंकले उकालो लाग्दा लगानीकर्तामा सकारात्मक संदेश गएको छ ।
 
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।
 
कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ । केहि दिन यता बजार घट्दा समेत बढ्दै आएको व्यापार समूहको सबइन्डेक्स बिहीबार पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नै बिहीबारको सबैभन्दा धेरै बढ्ने समूह हो ।
 
त्यसपछि अन्य समूहमा रहेका कम्पनीहरुको सबइन्डेक्स ५ दशमलव ४४ प्रतिशतले, लगानी समूह ५ दशमव २६ प्रतिशतले र लघुवित्त समूहको सबइन्डेक्स ५ दशमलव ०६ प्रतिशतले उकालो लागेको छ । जलविद्युत समूह ४ दशमलव ७८ प्रतिशतले उकालो लाग्दा जीवन बिमा ३.५, बैंकिङ २.९६, होटल तथा पर्यटन २.९९, विकास बैंक २.४७ र फाइनान्स २.७८ प्रतिशतले बढेको छ ।
 
धेरै कमाउनेमा बिहीबार पनि चन्दांगिरी हिल्स कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् । केहि दिन यता यस कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । बिहीबार १० प्रतिशत अर्थात ५५ रुपैयाँले बढेर चन्द्रागिरीको सेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ ।