रसुवागढी नाकाबाट सामान आयात सुरु

फाल्गुण २१,२०७७

-

फाल्गुन २१, २०७७ काठमाडौं ।
चिनियाँ ल्होसार पर्वका कारण ठप्प भएको रसुवागढी नाकाबाट सामान आयात सुरु भएको छ । माघ २९ देखि आयात रोकिएकोमा शुक्रबार बिहान सामान भित्रिएको हो ।
 
सातवटा चिनियाँ कन्टेनरले सामान ल्याएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । उनका अनुसार मेसिन, फर्निचर र अन्य रेडिमेड सामग्री ल्याइएका छन् । ‘नाकाबाट यसअघि दैनिक ५ कन्टेनर सामान आइरहेकोमा शुक्रबार दुई कन्टेनर थपिएका हुन्,’ उनले भने, ‘आगामी दिन आयात अझ बढ्न सक्ने जानकारी चिनियाँ भन्सारका अधिकारीले दिएका छन् ।’
 
एक वर्षयता रसुवागढी नाकाबाट आयात-निर्यात पटकपटक प्रभावित हुँदै आएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात बन्द भएको थियो । पछि कोरोना भाइरस ९कोभिड–१९० देखा परेपछि नाका ठप्प पारिएको थियो ।
 
नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको तेह्र महिना भइसकेको छ । अगस्टदेखिनै सयौं कन्टेनर सामान केरुङभन्दा माथि ल्हासा, न्यालम धिङ्ग्री, सिगात्सेलगायत स्थानका गोदाममै थन्किएको व्यापारीले बताएका छन् । केरुङमा नेपालीका १८ वटा खाली कन्टेनर रोकिएका छन् ।
 
नाका प्रभावित भए पछि सामान आयात पनि घटेको छ ।