आर्थिक प्रसङ्ग
श्रावण ३२,२०७४
-रासस
३२ श्रावण/काठमाडौं-
विगत केही दिनअघिको भारी वर्षासँगै आएको बाढीका कारण पर्यटकीय नगरी चितवनको सौराहाका १ सय १० होटलमा क्षति पुगेको छ ।
सो बाढीका कारण १ सय १० होटलमा करिब १५ करोडबराबरको क्षति हुन गएको होटल संघ चितवनले जनाएको छ ।
संघले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढीका कारण ती होटलहरूमा मानवीय क्षति भने भएको छैन । बुधबारबाटै संघले करिब १५ वटा होटल सञ्चालनमा ल्याउन लागेको छ । अन्य होटल भने एक साताभित्रै सञ्चालनमा ल्याउने संघको तयारी छ ।
बाढी आएका समयमा सौराहाबाट करिब ६ सय पर्यटकको उद्धार गरिएको थियो । यसअघि पनि नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रेका कारण सौराहाका पर्यटकको संख्या ह्वात्तै घटेको थियो । आन्तरिक र बाह्य दुवै खालका पर्यटकहरूमा कमी आएको थियो । व्यवसाय ओरालो लागेकै क्रममा सौराहाका पर्यटन व्यवसायीले थप अर्काे मार खेप्नुपरेको छ ।
व्यवसायमा ठूला क्षति पुगेको भन्दै व्यवसायीले बैंकको ब्याजदरमा केही सहुलियत खोजेका छन् । यसका लागि सरकारले आवश्यक वातावरण तयार गरिदिनसमेत उनीहरूले आग्रह गरेका छन् ।
प्रमुख समाचार