Trending :
 

आर्थिक प्रसङ्ग

दुधको मूल्य बढ्यो

भाद्र ०१,२०७४

-रासस

१,२०७४ भाद्र,काठमाडौँ-

सरकारले बुधबारदेखि दूधको मूल्य बढाएको छ ।

किसानको हितलाई मध्यनजर गर्दै सरकारले प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाएको हो । यो सँगै दूधको मूल्य ७० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले बुधबारदेखि नै लागू हुने गरेर प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाएको जानकारी दिएको छ । संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले विगत तीन वर्षदेखि दूधको मूल्य बढ्न नसकेकाले किसानको हितलाई मध्यनजर गर्दै दूधको मूल्य बढाएको बताए ।

उनले किसानसमेत संलग्न रहेको सरकारी अध्ययन टोलीको अध्ययन प्रतिवेदनको आधारमा पशुपन्छी विकास मन्त्रालयले नै दूधको मूल्य निर्धारण गरेको बताए । उनका अनुसार अहिले बढेको मूल्यको ७० प्रतिशत मूल्य किसानले पाउने र ३० प्रतिशत मूल्य दूध उद्योगीले पाउने भएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चले किसानलाई राहतस्वरूप दूधको मूल्य वृद्धि गर्नु जायज रहेको बताएको छ । मञ्चका अध्यक्ष माधव तिमल्सिनाले किसानको हित हेरेर मूल्य वृद्धि गर्नु उचित रहेको तर, मूल्य वृद्धिको उचित रकम किसानले पाउनुपर्ने बताए । त्यस्तै उनले सरकारले सबै किसिमको दूधको मूल्य वृद्धि गरेकाले दूधको गुणस्तर छुट्याउन र गुणस्तर नियमनमा पनि ध्यान दिनुपर्ने बताए । किसानको मागको आधारमा दूधको मूल्य वृद्धि गरेको तर, अनुज्ञा पत्र नलिईकनै दूध पसल सञ्चालन गर्ने र दूधको गुणस्तरमा ध्यान नदिने हरूको मूल्यांकन सरकारले नगर्ने गरेको उनको भनाइ छ ।