श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने

चैत्र ०१,२०७७

-

चैत १, २०७७ काठमाडौं ।
श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ ।
 
राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ । 
 
यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताउनुभएको छ।
 
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
 
योसम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ।
 
सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २५० जनाको ज्यान गएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ । बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्न निर्णय लामो समयदेखि रोकिएर बसेको सरकारी अधिकारीहरुले बताएका छन् ।