म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि गोली प्रहार, एकै दिन ३८ को मृत्यु

चैत्र ०२,२०७७

-

चैत २, २०७७ काठमाडौं ।
म्यान्मारमा सैन्य ‘कु’ विरूद्धको प्रदर्शनमा सहभागीमाथि सुरक्षाफौजले गोली चलाउँदा एकै दिन कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
 
आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ३८ जना प्रदर्शनकारीहरू मारिएको त्यहाँका अभियानकर्मीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
 
आइतबारको यो घटना फेब्रुअरी १ मा सैन्य ‘कु’ भएयताकै सबैभन्दा घातक भएको एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएको छ ।
 
एएपीपीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएका छन् भने अन्यको  देशका विभिन्न भागमा मृत्यु भएको छ ।
 
याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको दाबी गरिएको छ ।
 
प्रदर्शनकारीहरूले एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि पनि हमला गरेका छन् ।
 
चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले चिनियाँ व्यवसायीमाथि हमला गरेका हुन् ।
 
बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ ।
 
क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ। एउटा चिनियाँ होटलमा समेत हमला भएको छ ।
 
चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।
 
दूतावासले म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको छ ।