आगामी बजेटमा नयाँ आयोजना प्रस्ताव नगर्न अर्थको आग्रह

चैत्र ०२,२०७७

-

चैत्र २, २०७७ काठमाडौं ।
अर्थ मन्त्रालयले आगामी वर्ष २०७८/७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
 
अर्थ मन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसँग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्तावभन्दा पनि अघिल्लो आर्थिक वर्षका क्रमागत आयोजना नै समयमै सम्पन्न गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।
 
छलफलमा अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव धनीराम शर्माले अघिल्ला आर्थिक वर्षको क्रमागत आयोजना नै सम्पन्न गर्ने विषयलाई प्राथमिकताका साथ राखी सोही अनुरुप योजना तर्जुमा गर्न आग्रह गरे । उनले अगाडि नबढाइ नहुने आयोजना भने अध्ययनको लागि प्रस्ताव गरेर अगाडि बढाउन सकिने बताए ।
 
अर्थ मन्त्रालयले सरकारले उपलब्ध गराउने ससर्त अनुदानको बारेमा भने त्रिपक्षीय छलफल गरेर मात्र योजना बनाउने भएको छ । ससर्त अनुदानमा सञ्चालित आयोजनाको कार्यान्वयन प्रभावकारी नभएको र अपनत्व पनि कसैले नलिएको कारण अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय र प्रदेशसँग छलफल गरेर मात्र अगाडि बढाउने महाशाखा प्रमुख शर्माले जानकारी दिए ।
 
अर्थ मन्त्रालयले कार्यसञ्चालन खर्चमा समेत मितव्ययिता अपनाउन आग्रह गरेको छ । सरकारले आगामी बजेटमा कार्यसञ्चालन सम्बन्धी बजेट वृद्धि नगर्ने भएकाले मन्त्रालयहरुलाई बजेट नबढाउन आग्रह गरिएको हो ।
 
बजेट पूर्वको छलफलमा विभिन्न मन्त्रालयका सचिव, योजना तथा कार्यक्रम प्रमुखहरुले आ–आफ्ना मन्त्रालयबारे धारणा राखेका थिए ।