Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

बिहारमा बाढीबाट ९१ जनाको मृत्यु

भाद्र ०१,२०७४

-एजेन्सी

१ भाद्र/पटना-

भारतीय राज्य बिहारमा बाढीका कारण कम्तीमा पनि ९१ जनाको मृत्यु भएको छ भने करिब ९६ लाख सर्वसाधारण प्रभावित भएका छन् ।

पछिल्ला तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण उनीहरूको मृत्यु भएको हो । बिहारको राजधानी पटनामा बाढीका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको छ ।

बाढीका कारण लाखौंलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् भने हजारौं जना घरबारविहीन बन्न पुगेका छन् । बिहारका १२ जिल्ला बाढीबाट नराम्ररी प्रभावित बनेका छन् । सरकारले उद्धारकार्यलाई तीव्रता दिएको जनाएको छ । बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौं नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाहरूको खोजीकार्य जारी छ ।

प्रभावित क्षेत्रमा ३ सय ५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौं नागरिक बसिरहेका बताइएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्धार र राहत वितरणका लागि दुई हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । बिहारमा मंगलबारसम्म वर्षा नरोकिएकाले पानीको सतह घटेको छैन । यसका कारण उद्धारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् ।