रेसुङगाको धार्मिक तथा पौराणिक महत्व

चैत्र ०८,२०७७

यज्ञप्रसाद भट्टराई

-आस्था न्यूज

चैत ८,२०७७ काठमाडौं ।
  •     यज्ञप्रसाद भट्टराई
लुम्विनी प्रदेसको गुल्मी जिल्लामा अवस्थित रेसुङगा स्थल पवित्र तपोभूमि स्थल हो । यस भूमिको धार्मिक तथा पौराणिकरुपमा अति नै महत्व रहेको पाईन्छ । ऋष्य श्रृङगको नामबाट नै रेसुङगा नामाकरण हुन गएको हुँदा ऋषि श्रृङगीको वारेमा उजागर गर्नु यस लेखको उद्देश्य रहेको छ ।
 
 
श्रृङगी ऋषि एक महान ऋषि थिए । उनी वेदका पारङगत विद्दान थिए । उनले राजा दशरथलाई पुत्र प्राप्तिको लागि अश्वमेघ यज्ञ तथा पुत्रकामोष्टि यज्ञ गराएका थिए । ऋषि श्रृङगी सदा वनमा नै रहेर वनमा नै पालनपोषण पाएर हुर्के वढेका थिए । उनी सदा पिताको साथमा नै रहेको हुँदा दोस्रो कसैप्रति पनि जानकार रहेनन । महर्षि कश्यपका पुत्र विभण्डक थिए भने विभण्डकका पुत्र ऋष्य श्रृङग अर्थात श्रृङगी ऋषिको नामले प्रशिद्द थिए । ऋषि श्रृङगीको शिरमा एक सिङग थियो जसको कारण उनको नाम श्रृङग रहन गयो ।
 
 
 विभण्डक ऋषिले कठोर तपश्या गरेको कारण  देवतागणहरु भयभीत भएर उनको तपश्या भङग गर्नको लागि देवताहरुले ईन्द्रसँग अनुरोध गरे । ईन्द्रले उनीहरुको अनुरोधलाई स्वीकार गर्दै उनको तपश्या भङग गर्न एक उर्वसी पठाएका थिए । उर्वसीले विभण्डक ऋषिलाई मोहित गरिन र उर्वसीको साथमा ती ऋषिको संसर्ग भयो र जसको फलस्वरुप ऋष्यश्रृङगको जन्म हुन गयो ।
 
 
जव उर्वसीवाट ऋष्य श्रृङगको जन्म भयो ततपश्चात ती उर्वसी तुरुन्त स्वर्गलोक गईन । यस प्रकारको धोकाको कारण विभण्डक ऋषि आहात वने । यस धोकाको घटनाले गर्दा उनलाई नारीप्रति वितृष्णा तथा घृणा उत्पन्न हुन गयो । उनले आफ्नो पुत्र ऋष्यश्रृङगलाई नारीको नजीक नपर्ने अवस्था श्रृजना गरे । उनको लालनपालनको लागि एक अरण्ड्य वर्षा वनमा लगे ।
 
उनले आफ्नो पुत्रलाई आमा वावु र गुरुको समेत प्रेम दिएर हुर्काए वढाए । उनको त्यस आश्रममा कुनै पनि स्त्रीलाई प्रवेशमा वर्जित थियो । सांसारिक वृत्तीबाट मुक्त विभण्डक ऋषिको  त्यो आश्रम साक्षात स्वर्गसमान थियो भनिन्छ ।
 
एक अर्को जनश्रुति अनुसार एकपटक महर्षि विभण्डक नदीमा स्नान गर्न गएका थिए । ईन्द्रले पठाएको  स्वर्गकी प्रीय अप्सरा उर्वसीलाई देखेर उनीप्रति मोहित भए । नदीमा स्नान गरेको समयमा ऋषिको विर्यपात भयो । एक देवकन्या जुन मृगको रुप धारण गरेर आएको वेला नदीमा पानी पिउन लागिन र पानी पिउदा पानीको साथमा विर्य पनि साथै पिईन गयो तसर्थ एक वालकको जन्म हुन पुग्यो र उनको शिरपर एक सिङसमेत आयो।
 
त्यस प्रकारको विचित्र वालकको जन्म दिएर ती मृग श्रापमुक्त भई स्वर्गलोक गईन भनेको पनि पाईन्छ । ति विभण्डक ऋषिको आश्रममा कुनै पनि तामसी वृत्ती थिएन ।
 ईन्द्रदेवताको छलबाट आहात बनेका ऋषिले कठोर तपस्या गर्न लागे जसको कारण उक्त समयमा ठूलो खडेरी पर्न गयो । यस अवस्थाको समीक्षा गर्न अङग देसको राजा रोमपादले आफ्ना मन्त्री तथा पुरोहितहरुलाई निमन्त्रणा दिए। महर्षि विभण्डकका छोरा ऋषि श्रृङगी आफ्ना पिताको शिक्षा दिक्षाबाट अधिक तेजवान र प्रतिभावान वन्दै गएका थिए ।
 
उनको ख्याति जताततै फैलियो । अङगराजलाई उनका पुरोहितहरुले ऋषि श्रृङगीलाई अङग देसमा लगेमा वर्षा भई खडेरीको अन्त हुने र अनिकाल खतम हुने सल्लाह दिए । एकपटक महिर्षि विभण्डक आफ्नो आश्रमबाट वाहिर गएका थिए त्यसै समयको खोजिमा अङगराज थिए । उनले श्रृङगी ऋषिलाई रिझाउन देवदासी र सुन्दरीहरुको सहारा लिएर उनीहरुलाई ऋषिको आश्रममा पठाए ।
 
त्यसको लागि आश्रममा गुप्तरुपमा एक शिविर वसाले । तीव्रगतिमा आश्रममा सुन्दरीहरुबाट अनेक हावभावले गर्दा ऋङगी ऋषिलाई रिझाउन लागे । उनलाई अनेक प्रकारका खानाहरु उपव्ध गराउन थाले । ऋषि ती सुन्दरीहरुको जालमा फस्न थाले । महिर्षि विभण्डक आउनुभन्दा अघि नै ति सुन्दरीहरु पलायन हुन्थे र वाहिर गएको वेला आश्रमको शिविरमा रहन्थे ।
 
श्रृङगी ऋषिको मन चन्चल हुन थाल्यो । पिता कतै गएको समयमा उनी सुन्दरीहरुको शिविरमा जान थाले । सुन्दरीहरुले श्रृङगी ऋषिलाई आप्नो पासमा पारेर अङग देसमा लैजान सफल भए । उनलाई बडो हर्षोल्लासकासाथ अङग देसमा राजाले स्वागत गरे । श्रृङगी ऋषि त्याहाँ पुगेपछि घनघोर षर्षा हुन पुग्यो । सवै व्यक्तिहरु प्रफुल्लित र आनन्दित हुन पुगे । आफ्नो आश्रममा छोरालाई नदेख्दा उता महर्षि विभण्डक आश्चर्यमा परे, उनले आफ्नो योगको वलमा जानकारी प्राप्त गरेर आफ्नो पुत्रलाई फिर्ता लिउन अङग देसतिर लागे ।उनले राजालाई दण्ड दिने विचार गरे ।
 
अङग देसको राजा र आयोध्याका राजा दशरथ दुईजना घनिष्ठ मित्र थिए । राजा रोमपादले राजा दशरथकी पुत्री शान्तालाई आफ्नी धर्मपुत्रीको रुपमा राखेका थिए । महर्षि विभण्डकको श्रापबाट वच्न उनलाई तुरुन्तै श्रृङगी ऋषिसंग विवाह गरिदिए । जव विभण्डक ऋषिलाई आईरहेको देखे तव अङग देसका जनताले जोडले भन्न थाले की यसदेसका राजा ऋषि श्रृङगी हुन ।
 
यो आवाज महर्षिले सुने । आफ्नो छोरालाई दुलहीको साथमा जव महर्षिले देखे तव उनको विचार वदलियो र क्रोध शान्त हुन गयो । उनले वरवधुको साथमा राजा रोमपादलाई आशीर्वाद दिए । आफ्नो पुत्र र पुत्रवधुलाई लिएर महर्षि विभण्डक आश्रममा फिर्ता भएर शान्तपूर्वक रहन थाले ।
 
अयोध्याका राजा दशरथका कुनै पुत्र थिएनन । उनले आफ्नो चिन्ता महर्षि वशिष्ठलाई सुनाए । महर्षि वशिष्ठले रेसुङगामा रहेका  ऋष्य श्रृङग अर्थात श्रृङगी ऋषिद्दारा अश्वमेघ तथा पुत्रेष्ठी यज्ञ गराउन सल्लाह दिए । उनलेमात्र यज्ञमार्फत पुत्रेष्ठी गराउन सक्ने क्षमता भएकोले उनीद्दारा यज्ञ गराउन सल्लाह प्राप्त भयो । दशरथ राजाले श्रृङगी ऋषिसंग वन्दना गर्न लागे, ततपश्चात ऋषिको मन पग्लियो र श्रृङगी ऋषि यज्ञको पुरोहित हुन राजी भए । उनले एक यज्ञकुण्डको निर्माण गरे । उक्त स्थानलाई मखौडा भन्ने गरिन्छ ।
 
श्रृङगी ऋषिको यज्ञको परिणामस्वरुप राजा दशरथलाई राम, भरत, लक्ष्मण तथा शत्रुघ्न नामक चार पुत्र प्राप्त भएको वैदिक मान्यता छ । उक्त स्थानमा यज्ञपश्चात एक प्राचीन मन्दिर वनाईयो , त्याहाँ ऋषि श्रृङग र माता शान्ताको मन्दिर वन्यो । 
 
ऋष्य श्रृङगले यस पुण्ड्य भूमि हालको रेसुङगा क्षेत्रमा त्रेता युगमा आश्रम वनाई तप, योग र ध्यान गरेको हुनाले ऋष्य श्रृङगकै नामबाट अपभ्रम्स हुँदै हालको रेसुङगा नामाकरण हुन गएको कथन रहेको पाईन्छ । ऋष्य श्रृङग जहाँ गयो त्यही वर्षा हुन्थ्यो । ऋषि श्रृङगी वसेको वखत रेसुङगा क्षेत्रमा पानी परेको हुँदा उक्त स्थानलाई पानीले नुहाएको डाँडो पनि भन्ने गरिन्छ । रेसुङगा क्षेत्रमा भगवान राम र लक्ष्मण पनि श्रृङगी ऋषिको दर्शन गर्न आएको समयमा  यहाँ केको समस्या छ भनी सोध्दा पानीको समस्या भएको ऋषिले वताएपछि आफ्नो धनुषवाणले हानेर पानी निकालिदिएको कथन पनि रहेको पाईन्छ  जुन कुवालाई रामकुवा पनि भनिन्छ ।
 
भनिन्छ भगवान श्रीकृष्णले रेसुङगामा वसी वाचन गरेको कथा अर्जुनले अर्जुनडांडामा वसी श्रवण गर्दथे। साथै रुरु क्षेत्रका तपश्वीहरुको वर्षे आश्रम पनि रेसुङगामा रहने गरेको थियो भनिन्छ । रेसुङगाको शिरमा पवित्र यज्ञशाला छ । सुनको गजुर र तामामो छाना भएको प्यागोडा शैलीको यज्ञशाला प्रभू यदुकानन्दले वनाएका थिए । उक्त यज्ञशालाभित्र हवनकुण्ड रहेको छ । त्यस हवनकुण्डमा विसं १९८३ मा मुक्तिनाथबाट अग्नील्याई अखण्ड घृतधारा चलाउने गरिआएको पाईन्छ ।
 
यहाँ विशेषगरी श्रावणठूली एकादशीदेखि भक्तजनको घुईचो लाग्ने गर्छ । रेसुङगामा रहेको पोखरीमा साउन महिनामा स्नान गरे उर्जा जागी पाप नष्ट हुने विश्वास छ । शिद्दपोखरीमा नुहाएर माथी रहेको श्रृङगेश्वर मन्दिरमा गएर पुजा अर्चना गर्ने चलन रहेको छ । रेसुङगामा श्रृङगेश्वर मन्दिर, धर्मशाला, विष्णुपादुका, रामकुवा ,शिद्दवावा मन्दिर रहेका छन । 
 
स्थानीयको भनाई अनुसार हालको अर्घाखाँचीमा  जन्मेका मराशिनी थरका शशीधर स्वामीले सम्वत १८५० देखि १९०० सम्म तपश्या तथा योग साधना गरेको साथै शशीधर स्वामीका पुत्र वालव्रहमचारी लक्ष्मीनारायण स्वामीले पोखरी वनाएका थिए भनिन्छ । काठमान्डौबाट आई तप तथा ध्यान साधनामा संलग्न भएर यदुकानन्द स्वामीले रेसुङगाको विकासमा सघाउ पुर्याएका थिए भनिन्छ ।
 
चिसो हावापानी, घना वनजङगल , जैविक विविधताले भरिपूर्ण यो पवित्रस्थान समुद्रसतहबाट ८०० मिटर देखि २३४७ मिटरसम्मको उचाईमा रहेको छ । यहाँको वनक्षेत्र करिव ३४०० हेक्टर रहेको छ। यस क्षेत्रको वनजङगल जोगाई यस पवित्र स्थललाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नु आवाश्यक छ । यस क्षेत्रमा धर्म ,संस्कृति, योग साधनाको पढाई हुनेगरी पाठशालाको पनि स्थापना गर्नु आवाश्यक रहेको छ । त्यसैगरी ध्यान योग गर्ने गरी  ध्याकेन्द्र तथा आश्रमको निर्माण गर्नुपर्ने देखिन्छ ।
 
साथै धर्मशालाहरुको निर्माण गर्नुपर्ने देखिन्छ। यस क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा रेसुङगा क्षेत्र विकास समिति  , रेसुङगा नगरपालिकाको अहम भूमिका रहनुपर्ने हुन्छ । त्यसैगरी यस स्थानको विकासमा सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र , नीजि क्षेत्रलगायत सवैपक्षको सार्थक सहयोग जरुरी छ।
 
यस क्षेत्रलाई अहिलेको भौतिकवादी सोचबाट बढदै गईरहेको रोग, शोक, चिन्ता, तनाव, दुखकष्ट र पीडाबाट मुक्त हुनेगरी आत्मज्ञान तथा  व्रह्म ज्ञानको उजागर गरी शान्तिको अनुभव प्राप्त हुने पवित्रस्थलको रुपमा विकास गरिनु जरुरी छ । सर्वभवतुमंगलम ।