साताको अन्तिम दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट

चैत्र १२,२०७७

-आस्था न्यूज

चैत १२,२०७७ काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८।९६ मा ओर्लेको छ ।
 
यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल २०८ कम्पनीको एक करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर रु छ अर्ब ५० करोड आठ लाख छ हजार ४० मूल्यमा खरिद बिक्री भए ।
 
बिहिबारको कारोवारपछि कूल बजार पूँजीकरण रु ३५ खर्ब २० अर्ब २२ करोड ७५ लाख ४० हजार बराबर पुगेको छ । नेप्सेका अनुसार कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ ।
 
व्यापार १७४.८८, होटल र पर्यटन १५४.०७ र सामूहिक लगानी कोष १.१९ बिन्दुले उकालो लाग्दा बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत् ४४.२९, वित्त २.८८, निर्जीवन बीमा ५४.१५, उत्पादन ४९.६३, अन्य ३७.२२, लघुवित्त ४७.५४, जीवन बीमा १६९.८ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ ।
 
कारोवारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ६०८ मा कारोवार भयो । कूल रु ९१ करोड आठ लाख ८० हजार ७१९ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।
 
नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए ।