थ्री नेसन्स कपमा नेपाल गोल नै नगरी फाइनलमा
-आस्था न्यूज
चैत १४,२०७७ काठमाडौं ।
बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ ।
तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ ।
पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।
नेपालले गोल नगरेको यो छैटौं अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो पटक नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध २-० को जित हात पार्दा अन्जन विष्टले दुवै गोल गरेका थिए । त्यसयता नेपालले गोल गर्न नसकेको ५६८ मिनेट भएको छ ।
दशरथ रंगशालमा किर्गिस्तानविरुद्ध खेलेको भन्दा सुधारिएको प्रदर्शन गरेपनि नेपालले गोल गर्न सकेन ।
नेपालले सुरुवाती दश मिनेट बलमा पकड जमाएपनि पहिलो एटेम्टका लागि २० मिनेट कुर्नुपर्यो । त्रिदेव गुरुङले उपलब्ध गराएको क्रसमा २१औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट हानेको फ्रि हेडर पोष्टमाथिबाट बाहिरियो ।
३७औं मिनेटमा बंगलादेशका इमोनको हेडर दिनेश राजवंशीले गोललाइन अगाडिबाट क्लियर गरेका थिए । ४०औं मिनेटमा कप्तान जमल भुयनले ३० यार्डबाट प्रहार गरेको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिएको थियो ।