बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि नेपाललाई

चैत्र १६,२०७७

-आस्था न्यूज

चैत १६, २०७७ काठमाडौं ।
नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई-एक ले हराउँदै च्याम्पियन बनेको हो ।  
 
नेपालका लागि लागि खेलको १८ औँ मिनेटमा सन्जोक राईले र ४२ औँ मिनेटमा विशाल राईले गोल गरे । पहिलो हाफमा नेपालले दुई-शून्यको अग्रता बनाए पनि दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेको हो । बङ्गलादेशले खेलको ८३ औँ मिनेटमा गोल फर्काएको हो ।  
 
यो जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो ।
 
लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बङ्गलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थान बनाउँदै फाइनलमा ठाउँ बनाएको थियो । बङ्गलादेशले भने लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई एक-शून्यले हराउँदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।
 
उपाधि जितेको नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बङ्गलादेशले भने तीन हजार डलर प्राप्त गरेको छ । 
 
यही महिना आयोजना हुने तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले विश्व कप छनोट तयारीलाई मध्यनजर गर्दै त्रिदेशीय कप फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।