महोत्तरीबाट हराएका ७ जना किशोरीको भारतबाट उद्धार

चैत्र १९,२०७७

-आस्था न्यूज

चैत १९,२०७७ काठमाडौं ।
महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।
 
भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु मंगलबारबाट हराएका थिए ।
 
सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका सई आदित्य सिंह नेतृत्वको टोली पनि नेपाल-भारत सीमाको भिट्टामोड पुगेको थियो ।
 
किशोरीहरुको उद्धारमा पुगेका सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति १० बजेको समयमा फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।
 
भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका बन्न’ भारत गएको बताएपनि आफूहरुसँग भने उनीहरुले केही नबताएको उनले बताए । शाहीका अनुसार भारतीय गैरसरकारी संस्था चाइल्ड वेलफेर कमिटी (सीडब्लूसी)ले उनीहरुलाई बुधबार दिनभर काउन्सेलिङ गरेको थियो ।
 
सीडब्लूसीले आफ्नो जिम्मामा आएका किशोरीहरुलाई कम्तीमा पनि एक हप्ता वा एक महिना काउन्सेलिङ गरेर मात्रै परिवारको जिम्मा लगाउने नियम रहेका कारण राति अबेर उक्त संस्थालाई कन्भिन्स गरेर नेपाल ल्याइएको शाहीले बताए ।