आर्थिक प्रसङ्ग
भाद्र ०२,२०७४
-रासस
२,२०७४ भाद्र,काठमाडौं-
नेपाल टेलिकमले बाढीपहिरोपीडितको उद्धार तथा राहतका लागि २९ देखि ३१ साउनसम्म १ करोड १२ लाख निःशुल्क एसएमएस आदानप्रदान गरेको छ ।
२९ साउनमा १७ लाख ३० हजार, ३० मा ४७ लाख ५५ हजार र ३१ मा ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको छ । टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो निःशुल्क एसएमएसको व्यवस्था गरेको हो ।
त्यसैगरी कम्पनीको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपद् अवधिमा प्रभावित क्षेत्रका बासिन्दालाई ४ लाख ८६ हजारभन्दा बढी विपद् आउनुपूर्वको जानकारी पठाएको छ । विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० मा १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ मा २ लाख ६ हजार ५ सयभन्दा बढी एसएमएस पठाएको छ । जल तथा मौसम विज्ञान विभागले आवश्यकताअनुसारको संख्यामा आफैं एसएमएस पठाउन सक्ने गरी कम्पनीले आवश्यक व्यवस्था गरेको थियो । योभन्दा पहिले पनि कम्पनीले यस्तै प्रकारका एसएमएस निःशुल्क रूपमा पठाउँदै आएको छ ।
१३ साउन २०७३ मा कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत पठाउनेसम्बन्धी सम्झौता सम्पन्न भएको थियो । त्यसैअनुरूप विपद् आउनुपूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रूपमा एसएमएसमार्फत निःशुल्क रूपमा आवश्यक जानकारी गराउने कार्य निरन्तर चलिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । हालै आएको अविरल वर्षाका कारण विशेष गरी पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रका दूरसञ्चारका उपकरणमा समेत क्षति पुगेकोमा १ भदौ २०७४ सम्ममा क्षति पुगेका ती उपकरणमध्ये ९१ प्रतिशतभन्दा बढी उपकरण सञ्चालनमा आइसकेका छन् ।
बाँकी उपकरण पनि छिट्टै नै सञ्चालनमा ल्याई सेवा सुचारु गर्ने कार्य द्रुत गतिमा भइरहेको पनि टेलिकमले जनाएको छ ।
प्रमुख समाचार