त्रिदेशीय कप फुटबलका विजेतालाई जनही चार लाख दिने सरकारको निर्णय

चैत्र २०,२०७७

-आस्था न्यूज

चैत २०,२०७७ काठमाडौं ।
सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।
 
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
 
नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए ।  ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।