कोरोना खोप किन्न विश्व बैंकसंग ८ अर्ब ७० करोड ऋण लिन नेपालको हस्ताक्षर

चैत्र २०,२०७७

-आस्था न्यूज

चैत २०,२०७७ काठमाडौं ।
कोभिड-१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७०  करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर)  बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 
 
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरे ।
 
अर्थ सचिव ढुंगानाले कम्तिमा ७२ प्रतिशत नेपालीलाई खोप दिने सरकारको बृहत योजनाका लागि यस अतिरिक्त वित्तीय सहयोगले महत्वपूर्ण सहयोग पुर्याउने बताए । उनले  नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा बिस्तार र स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो वित्तीय सहयोग उपयोगी हुने धारणा व्यक्त गरे ।
 
मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले कोभिड-१९  विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच बिस्तार गर्नु नेपालमा महामारीबाट जीवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण भएको बताए ।
 
उनले विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको समेत बताए ।