अमेरिकाको संसद भवन अगाडि चक्कु आक्रमण, एक प्रहरीको मृत्यु

चैत्र २१,२०७७

-

चैत्र २१,२०७७ काठमाडौं ।
 
अमेरिकाको संसद भवन (युएस क्यापिटल बिल्डिङ) अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
 
यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
 
प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।
 
आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।
 
वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।