वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालयहरु आजदेखि खुले

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२, २०७७ काठमाडौं ।
वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।
 
देशभर प्रदूषण अतिहानिकारक अवस्थामा पुगेपछि सरकारले गएको मङ्गलवारदेखि शुक्रवारसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
 
बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको थियो । 
 
शिक्षण संस्था बन्दको निर्णयअघि मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । परिस्थितिका कारण तत्काल यस्तो निर्णय गर्नुपरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभएको छ ।