नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाहलाई जिम्मेवारी

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२,२०७७ काठमाडौं ।
कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । 
 
उनले आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा नेपाली टिम सम्हाल्नेछन् । एन्फाको टेक्निकल कमिटीका प्रमुख कृष्ण थापाका अनुसार अब्दुल्लाहलाई एक वर्षको जिम्मेवारी दिइएको हो ।
 
अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थान लिएका हुन् । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।
 
एफसी कोचिङ इन्सट्रक्टर समेत रहेका उनी कतार फुटबल संघको सहयोगमा थ्री नेसन्स कप अगाडि नै नेपाल आइपुगेका थिए । उनले यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिम हेरेका थिए ।