कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३, २०७७ काठमाडौं ।
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गरिने भएको छ । काठमाडौं जिल्ला कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच गर्ने र एन्टिजेन टेस्ट गर्न हेल्प डेस्कको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
 
यस्तै एन्टिजेन टेस्टबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्ट का स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ । 
 
यसअघि सबै महारनगरपालिकाहरूमा सञ्चालित आईसोलेशन केन्द्र र क्वारेनटाइनहरुलाई अध्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ–आफ्नो नगरपालिकाभित्र कम्तिमा १-१ वटा आईसोलेशन तथा क्वारेन्टाइनको सञ्चालन र व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । 
 
स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने सन्दर्भमा स्वास्थ्य कार्यालय, सबै नगरपालिका, सुरक्षा निकायले प्रचारप्रसारमा जोड दिँदै अनुगमन गरी मापदण्ड पालना नगरेको पाइएमा कारबाही गर्ने निर्णय पनि भएको छ । 
 
यस्तै जनचेतनाका लागि जनशक्ति परिचालन गर्ने, कन्ट्याक्ट ट्रेसिङमा जोड दिने, चीनबाट प्राप्त भ्याक्सिन लगाउन आवश्यक समन्वय गर्ने, सार्वजनिक स्थानमा गरिने कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ ।