लुम्बिनी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्री बर्खास्तीको तयारी

चैत्र २४,२०७७

-आस्था न्यूज

चैत २४, २०७७ काठमाडौं ।
सरकारमै बसेर सत्ता विरोधी गतिविधि गरेपछि लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका मन्त्री बर्खास्ती तयारी गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलले एउटै क्याविनेटमा बसेर सरकारविरुद्धमा गतिविधि गर्नेलाई बर्खास्ती गर्ने टुंगोमा पुगेका हुन्।
 
सत्तारुढ दल  विरुद्ध भाषणबाजी गरिरहेका माओवादी केन्द्रका मन्त्रीहरुले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीसहित हस्ताक्षर अभियान चलाएका छन्। एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा सरकार बचाउने र गिराउने खेल सुरु भएको छ। आन्तरिक मामिला मन्त्रालयमै विपक्षीको भेला भएको हो।
 
सोमबार सत्तामै रहेको माओवादी केन्द्र र विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीसहित हस्ताक्षर संकलन गरेका छन्। सरकार गिराउने तयारीमा छलफलका लागि कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण रुपन्देही आएका छन्। विपक्षी दलसँग मिलेर सरकारविरोधी गतिविधि गर्ने मन्त्री हटाउने योजना मुख्यमन्त्रीको रहेको छ।