गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले दिए राजीनामा

चैत्र २५,२०७७

-आस्था न्युज

२५ चैत, काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीद्धयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर राजिनामा  बुझाएका छन्।

 

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापालेमुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ समक्ष राजीनामा बुझाएका हुन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धयले मुख्यमन्त्री गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्री थिए।

 

माथिबाटै निर्णय भएर राजीनामा बुझाएको भन्दै माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलका नेता समेत रहेका चुमानले फेरि सहकार्यको बाटो  खुल्ने विश्वास लिएको बताएका छन् l  मन्त्री चुमानले राजीनामा पत्र बुझाउँदै भने, ‘हामी अझै पनि सहकार्य गरेर नै अघि बढ्ने वातावरण बनोस्।’

 

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन्। माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन।

 

प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको मात्रै २८ जना सांसद छन्। ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ। अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।