गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलहरुका लागि एकिकृत दररेट लागु

चैत्र २५,२०७७

-आस्था न्युज

२५ चैत, काठमाडौं । गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलहरुले अबदेखि एकै दर रेटमा आफ्नो सेवा दिन पर्ने भएको छ l उक्त पदमार्गका लागि पहिलो पटक दररेट निर्धारण गरिए संगै लाङटाङ राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले समेत एकै किसिमको  नयाँ दररेटमा बस्तु बिक्रि तथा सेवा प्रदान गर्नु पर्ने भएको हो l  

 

गोसाइँकुण्ड जाने तीर्थयात्रीले होटलहरूले बढी मूल्य लिएको गुनासो बढे पछि नयाँ  दररेट निर्धारण गरिएको हो। निर्धारित  गरिएको दररेट २०७८ चैतसम्म लागू हुने छ l  

 

नयाँ दररेट अनुसार धुन्चे गोसाइँकुण्ड पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ। त्यस्तै निकुञ्जले दालभात, चाउचाउ सुप, दूध चिया, कालो चिया, टिबटेन रोटी, पेनकेक, पकाएको अण्डा, अण्डा अमलेट, चाउमिन, लसुन सुप तथा अज्य सुप, तातोपानी, बोतलको पानी, कोक फेन्टा र कफीको मूल्य निर्धारण गरेको छ। साथै बास बस्नका लागि प्रतिवेडको मूल्य समेत निर्धारण गरेको  छ। 

 

धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन्। जसमा क वर्गको २, ख वर्गको ८ र ग वर्गको ३ वटा छन्। साथै निजी जग्गामा समेत होटलहरू निर्माण भएका छन्। यसअघि जनैपूर्णिमा मेलाको लागि मात्रै दररेट निर्धारण गर्ने गरिएको थियो।

 

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन्। उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउदै आएका छन् । निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘ग’ वर्गकाले ६० हजार र घ वर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ। चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जाने व्यवस्था गरिएको छ । 

 

भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए। भूकम्पपश्चात् निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो। लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन्।