Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

शनिबार भएको रेल दुर्घटनामा २३ को मृत्यु,४० घाइते

भाद्र ०४,२०७४

-एजेन्सी

 

४ भाद्र/नयाँदिल्ली-

भारतको उत्तर प्रदेशको मुजफ्फरपुरको कलिंग-उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरपुरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँचवटा डिब्बा अर्को रेलमाथि चढ्दा भीषण दुर्घटना  भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका कम्तीमा २३ जनाको शव निकालिएको भए पनि अन्य कति जनाको मृत्यु भयो भन्नेबारे यो खबर तयार पार्दासम्म यकिन विवरण आइसकेको छैन । प्रशासनले समेत सो दुर्घटनामा परी मृत्यु हुनेको यकिन पुष्टि गरेको छैन । सो घटनामा ४० घाइतेको उद्धार गरिएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथ घटनाबारे थप जानकारी लिन घटनास्थलमै गएका छन् । दिल्लीबाट एनडीआरएफको टोली र लखनउ, मेरठ र मुजफ्फरपुरबाट उद्धार टोली परिचालन गरिएको छ । शनिबार साँझ करिब ५ः५० मा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रेलमन्त्री सुरेश प्रभुले दुर्घटनाबारे छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न आदेश दिएका छन् ।

यसैबीच रेलमन्त्री प्रभुले आफूले व्यक्तिगत रूपमा पनि दुर्घटनाको निगरानी गरिरहेको बताएका छन् । उनले रेलवेका वरिष्ठ अधिकारीलाई घटनास्थलमा तत्कालै गएर राहत तथा उद्धार कार्य सञ्चालन गर्न निर्देशन दिएका छन् ।

भारतीय रेलका प्रवक्ता अनिल सक्सेनाले दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको संख्याबारे यो कुनै आधिकारिक जानकारी आइनसकेको जनाएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मुजफ्फरपुर दुर्घटना दुःखद भएको भन्दै घाइतेको उचित उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।