बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड ला लिगा फुटबलको शीर्ष स्थानमा

चैत्र २९,२०७७

-

चैत २९,२०७७ काठमाडौं ।
 
बार्सिलोनालाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
 
शनिबार राति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २-१ ले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
 
घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियललाई जित दिलाउन करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे ।
 
बार्सिलोनाका ओस्कार मिन्गुएजाले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । २८औँ मिनेटमा क्रुसले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।
 
६०औँ मिनेटमा ओस्कारले एक गोल फर्काए पनि बार्सिलोना २-१ ले पराजित भयो ।
 
यस्तै खेलको इन्जुरी समय कासिरिमोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा समेटिएको थियो ।
 
जितसँगै रियलले ३० खेलमा ६६ अंक जोडेको छ । रियलले एट्लेटिको मड्रिडलाई हेड टु हेडमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।
 
एक खेल कम खेलेको एट्लेटिकोको पनि ६६ अंक रहेको छ । बार्सिलोना ६५ अंकसहित तेस्रो स्थानमा छ ।