त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

बैशाख ०३,२०७८

-आस्था न्यूज

वैशाख ३,२०७८ काठमाडौं ।
काठमाडौंमा शनिबार शुरु हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिज शुरु हुँदैछ ।
 
नेपालका कप्तान ज्ञानेन्द्र मल्लर नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरे । सिरिजका निर्देशक माधव कर्माचार्यले कोरोना भाइरस महामारीबाट जोगिन होटलदेखि मैदानसम्म सबै प्रोटोकल अपनाएको बताए ।
 
क्यानका महानिर्देशक रौनक मल्लले कोभिडको बेला पनि सिरिज गर्नु चुनौतीपूर्ण रहेपनि त्यसको लागि सबै मिलेर मिहिनेत गरेको बताए । सिरिजमा कोरोना भाइरस महामारीबाट जोगिन पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने बताए । उनले खेल हेर्ने टिकट डिजिटल प्रविधिबाट लिन सकिने बताए ।
 
उनले धेरै दर्शक सहभागी नगराउने र मास्क र सेनिटाइजर अनिवार्य गरिने पनि बताए । ‘सरकारबाट लिखित केही नआएकोले कति दर्शक प्रवेश गर्ने यकिन छैन । तर कोभिडको प्रोटोकल सबै अपनाइनेछ’ उनले भने ।
 
प्रतियोगितामा सहभागी हुने सबै तीनवटै देशका खेलाडीको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको पनि क्यानले जनाएको छ ।