काठमाण्डौसहित धेरैजसो ठाउँमा बिहानै वर्षा, दिउँसो चट्याङ र हावाहुरीको सम्भावना

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय र पश्चिमी वायुको प्रभावले बिहीवार दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
 
पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने बिहीवार सुधार हुने सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।
 
यस्तै बिहीवार ९आज० देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।